भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित (फोटोफिचर)



काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् ।

उनिहरुले विभिन्न सातबुँदे माग अघि सारेका छन्। आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन्। काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि कतिपय ट्याक्सी, माइक्रोबसलगायतमा यात्री चढाइएको छैन । सडकछेउमा पार्किङ गरेर राखिएको छ । यातायात व्यवसायी सबैले कोरोनाविरुद्धको खोप सहज रूपमा पाउनुपर्ने, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । ‘कि २०६९ सालमा भाडा समायोजन गर्दा भएकै पेट्रोल–डिजेलको मूल्य कायम गर्नुपर्यो कि भने वैज्ञानिक भाडा समायोजन गर्नुपर्यो,’ उनले भने ।

संघ सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्