जसपा विवादमा आयोगको इजलासमा सुनुवाइ



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादबारे निरोपण गर्न निर्वाचन आयोगको इजलासमा सुनुवाइ भइरहेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले दावी गर्दैआएका छन् ।

यसअघि बसेको आयोगको इजलासले दुवै पक्षसँग आवश्यक प्रमाण कागजात माग्ने आदेश गरेको थियो । त्यसपछि दुवै पक्षले आआफ्नो प्रमाण कागजात आयोगमा बुझाएको थियो । दुवै पक्षको प्रमाण कागजातका आधारमा इजलासले पुनः सुनुवाइ प्रारम्भ गरेको छ । दुवै पक्षका कानुन व्यवसायी उपस्थित भएर इजलाससमक्ष आफ्नो पक्षमा दलील दिइरहेका छन् । दुवै पक्षको बहस सकिएपछि इजलास आवश्यक निर्णय प्रक्रियामा प्रवेश गर्ने छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयोगमा सबै सदस्य सम्मिलित पाँच सदस्यीय इजलास नै गठन गरेर आयोगले जसपाको विवाद निरोपण गर्न लागेको हो । जसपाका प्रथम अध्यक्ष ठाकुरले कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरेर आफूले कार्यकारिणी समिति विस्तार र आवश्यक निर्णयहरु लिएको दावी गरेका छन् । यी विषयलाई यादवले भने अस्वीकार गर्दैआएको छ ।

स्मरणीय यादवको नेतृत्वमा रहेको तत्कालीन समाजवादी पार्टी फुट्न लागेपछि ठाकुरले जोगाइदिएका थिए । त्यसबखत सादा कागजमा सहीछाप गर्न तयार यादव ठाकुरसमक्ष बिलौना गरेर एकता गर्न आग्रह गरेपछि ठाकुर नेतृत्वको राजपासँग मध्यरातमा एकीकरण भइ जसपा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्