महारानी मन्दिरका पूजारी १२५ वर्षीय बाबा वैदेहीको निधन



महोत्तरी : स्थानीय महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।

भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्ने उनी बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्