कोरोनाको उत्पत्तिबारे अध्यन गर्ने डब्ल्यूएचओको योजना चीनले गर्‍यो अस्वीकार




काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ।

यो चरणको अध्ययनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरस आएको हुन सक्ने विषयमा पनि अध्ययन गर्ने योजना तय गरिएको थियो । डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र वुहान सहरको अध्ययनको योजना प्रस्तुत गरेको थियो । साथै उसले चिनियाँ अधिकारीहरुलाई डेटाको मामिलामा थप पारदर्शी बन्न आग्रह गरेको थियो।

‘हामी त्यस किसिमको उत्पत्ति पत्ता लगाउने योजनालाई स्वीकार गर्दैनौं, जसको केही पक्षमा सामान्य बुझाइ र विज्ञानलाई पनि नमान्ने देखिएको छ’, नेशनल हेल्थ कमिसन (एनएचसी) का उपमन्त्री जेङ यिसिनले बताए । उनले गोपनीयताको व्यवस्थाको कारण सबै विवरणहरु दिन नसकिने स्पष्ट पारेका छन् । चीनले यो अध्ययनलाई राजनीतिक बनाउनु नहुने बताउँदै आएको छ।

कोरोनाका पहिलो संक्रमित २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहान सहरमा फेला परेका थिए । यो भाइरस जनावरको व्यापार बजारबाट मानिसमा आएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्