चितवनमा साउन १४ सम्म निषेधाज्ञा थप



चितवन । चितवनमा निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी लामो तथा छोटो दूरीका अत्यावश्यक सवारीसाधन र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी साउन १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएको छ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेकोले निषेधाज्ञा थपिएको कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।थपिएको निषेधाज्ञामा अघिल्ला निषेधाज्ञाभन्दा केही खुकुलो गरिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

अत्यावश्यक यातायात र परीक्षाका तालिकाबाहेक अरु अघिल्ला नियमलाई निरन्तरता दिइएको छ । उनका अनुसार यसअघि जिल्लामा जोर–बिजोरको आधारमा निजी तथा भाडाका सवारी सञ्चालनमा आए पनि भोलिदेखि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा अत्यावश्यक छोटो तथा लामो दूरीका सवारीसाधनलाई अन्तरजिल्ला प्रवेश गर्न दिइनेछ।
यस्तै, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न पाइने पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्