‘नागरिकता विधेयक पारित नगरेर ठूलो अपराध गर्यौ’



काठमाडौं : राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस क्रममा सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् ।

संविधान अनुसार नागरिकता पाउनुपर्ने छ लाख युवा नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गर्दै उनले भनिन्–‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधि सभामा बुझायो । प्रतिनिधि सभाले तीन वर्षदेखि छलफल गरेको गरेकै छ, राष्ट्रिय सभामा अहिलेसम्म आएको छैन । दलीय सहमतिको नाममा छ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ ? त्यो चाँडो निकाल्न पर्दैन ? सम्माननीयज्यू, यो एकदमै ठूलो अपराध गरिरहेका छौं ।’

नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताइन् । ‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उनले भनिन् । यदि दलीय सहमति नजुटेर विधेयक अगाडि नबढेको भए यति ठूलो जनसरोकारको विषयमा सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईले बताइन् । ‘दलीय सहमति नजुटेर पास भएको छैन भने फ्लोर क्रस गर्ने चलन बसिहाल्यो, त्यस्ता कुरामा फ्लोर क्रस गरौं, जसले जनताको टड्कारो आवश्यकता पूर्ति हुन्छ’ उनले भनिन् ।

संसद अधिवेशन शुरु हुनेवित्तिकै सांसदहरुलाई नागरिकताविहीन युवाले एसएमएस पठाउने गरेको भन्दै सांसद राईले ती युवा नेपाली भएर पनि संविधानले दिएको मौलिक हक उपयोग गर्न नपाएको बताइन् । संविधान अनुसार नेपाली नागरिक आमाको सन्तानले पनि नागरिकता पाउने व्यवस्था गरेको भन्दै उनले संविधान जारी भइसकेको पाँच वर्षसम्म किन संविधान कार्यान्वयन हुन नसकेको भनी प्रश्न गरिन् । ‘कानुन संविधानसँग बाझिन्छ भने संविधानमा भएको कुरा लागू हुन्छ, तर त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्