ए डिभिजन लिग निर्धारित मितिमै हुन्छ: एन्फा अध्यक्ष शेर्पा



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग निर्धारित समयमा नै हुने भएको छ । ए डिभिजनमा रहेका १४ क्लबमध्येका केहि क्लबहरुले लिग रोक्न आग्रह गरेपनि लिग नरोकिने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । लिग रोक्न माग गर्दै चार क्लबले मंगलबार एन्फालाई ज्ञापन पत्र बुझाएका थिए। तर, अध्यक्ष शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुरु हुने बताएका हुन ।

ललितपुरका चार क्लबले कोरोना महामारीमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा अध्यक्ष शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमै लिग हुने बताए।

सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ देखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ । एन्फाले ए डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गर्ने निर्णय गरेको छ । चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतबार छलफल हुने उनले बताए । लिगमा सहभागी नभए लिग नियामवली अनुसार हुने अध्यक्ष शेर्पाले बताए ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एकापसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्