गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्ण आकार



पोखरा । सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् ।
माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् ।
त्यस्तै कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीका रुपमा शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत जेठ २९ गते मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्