चेम्बरले अर्थमन्त्रीलाई बुझायो १९ बुँदे सुझाव



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका कारण प्रभावित नीजि क्षेत्रलाई उकास्न अर्थमन्त्री समक्ष विभिन्न १९ बुँदे सुझाव पेश गरेको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यहरुले आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटघाट गरी उक्त सुझाव पेश गरेका हुन् ।
सो अवसरमा अध्यक्ष मल्लले शर्मालाई अर्थ मन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
उनले निजी क्षेत्रका लागि खोपको व्यवस्था गर्न समेत आग्रह गरेका छन् । उनले कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने उनले बताए । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनुपर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने लगायतका माग राखेका छन् ।
चेम्बरले बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिन समेत उनले आग्रह गरे ।
त्यसैगरी घर जग्गा कारोबारलाइ ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनु पर्ने, डिजीटल कारोवारलाइ प्राथमिकता दिइनु पर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाई कालो सूचीमा राख्ने, साना व्यवसायहरुलाइ सहजीकरण गर्न कुल कारोवारको सिलिङ वढाउनु पर्ने लगायतका सुझाव पेस गरेका छन् ।
सो अवसरमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न औद्योगीकरणको माध्यमबाट मात्र सम्भव भएको बताउँदै आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्