ठाकुरको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा




काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर दर्ता गरेका रिट निवेदन सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश रेग्मीको इजलासमा आठौं नम्बरमा त्यो रिट निवेदन परेको हो । त्यस रिटको सुनुवाइ भिडियो कन्फरेन्सिङमार्फत हुने भएको छ । अध्यक्ष ठाकुर तर्फका कानुन व्यवसायीहरुले भिडियो कन्फरेन्सिङबाट बहस गर्ने बताइएको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरी प्रथम अध्यक्षको हैसियतले गरेको कार्यकारिणी समिति विस्तारलाई मान्यता नदिएर आधिकारिता विवाद टुंग्याउनेतर्फ निर्वाचन आयोग लागेपछि त्यसविरुद्ध अध्यक्ष ठाकुरले सर्वाेच्चमा रिट दायर गरेका हुन् । निर्वाचन आयोगले भने सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

केन्द्रीय कार्यकारिणी समिति नै विवादित रहेको अवस्थामा आयोगले कुन कार्यकारिणी समितिलाई वैधता दिएको भन्ने छिनोफानो नै नभइ निर्णय प्रक्रिया अघि बढाएको ठाकुर समूहको आरोप छ । ठाकुरले कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरी २० जनालाई कार्यकारिणी समितिमा मनोनयन गरेका थिए । ती व्यक्तिलाई मान्यता दिनुपर्ने ठाकुर समूहको अडान छ । तर यादव समूहले त्यसको विरोध गर्दैआएको छ ।

निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा यदि अन्तरिम आदेश जारी भए जसपा विवाद थप केही दिन लम्बिने छ । यदि अन्तरिम आदेश जारी भएन भने निर्वाचन आयोगलाई आकिकारिता विवादको निरोपण गर्न बाटो खुल्नेछ । योसँगै काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागिताका लागि समेत जसपालाई सहज हुने छ । जसपाका दुवै समूह पार्टी आधिकारिकता निर्णयको पर्खाइमा छ ।

प्रतिक्रिया दिनुहोस्