बागलुङमा कभर्डहल निर्माण सम्पन्न



बागलुङ : जननेता मदन भण्डारीका नाममा नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कर्भडहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष लगाएर कर्भडहल बनाएको हो ।

बजेट अभावमा गत वर्ष कर्भडहलको काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो । मन्त्रालयबाट थप रु १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताए । “कर्भडहलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उनले भने । पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगनलगायतका काम गरिएको छ । कर्भडहल निर्माणका लागि नगरपालिकाले जग्गा दिएको थियो । फलामको ट्रष्ट प्रविधिबाट कर्भडहल बनाइएको हो ।

खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमासमेत उपयोग हुने गरी कर्भडहलको निर्माण गरिएको हो । कर्भडहल मुख्यरूपमा ब्याडमिन्टन खेललक्षित छ । आवश्यकता पर्दा तेक्वान्दो, कराँतेजस्ता खेलका लागि पनि कर्भडहलको प्रयोग गर्न सकिने एकेडेमीले जनाएको छ । स्थानीयवासीले सार्वजनिक हितका काममा समेत कर्भडहलको प्रयोग गर्न पाउने भएका छन् । कर्भडहल निर्माणमा ढिलाइ हुँदा यसअघि खेलप्रेमी र स्थानीयवासीले गुनासो गर्दै आएका थिए । गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्डहल बनेपछि खेलकुदसँगै सामाजिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवर्धनका लागि कर्भडहल बन्नु सुखद् रहेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताए । खेलाडी र खेल पूर्वाधारको विकासका लागि नगरपालिकाले समेत लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्