फेसन डिजाइनर काउन्सिलको सल्लाहकारमा कोरियोग्राफर झा



काठमाडौं : फेसन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ । यसअघि सम्पन्न कार्यसमितिको बैठकमा अध्यक्ष अमित झाले उनलाई काउन्सिलको सल्लाहकारमा नियुक्त गर्न राखेका प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेसन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमितले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरेका थिए । त्यस क्रममा काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेसन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेका बताए । अश्विनीलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेसन डिजाइनरका साथै काउन्सिलले पनि निकै लाभ लिन सक्ने बताउँदै उनले विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर अश्विनीले आफ्नो निजी जीवनमा पाएका सफलता सरह नै आफ्नो सल्लाह सुझाब र मार्गदर्शनले काउन्सिललाई सफल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्यहरू र प्रगतिका बारेमा समेत जानकारी गराएका थिए । कोरियोग्राफर अश्विनीले काउन्सिललाई उक्त जिम्मेवारीको लागि योग्य ठानेकामा धन्यबाद दिँदै कोरियोग्राफर र फेसन डिजाइनर एक अर्काको परिपुरक भएको बताए । आफ्नो विगतको अनुभवलाई कोट्याउँदै उनले आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरूदेखि नै फेशन डिजाईनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेसन डिजाइनरहरूको साथ र सहयोग रहेको बताए । वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेसन डिजाइनिङ क्षेत्रका साथै मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउँदै उनले अब छिट्टै नै सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्