सुवास नेम्वाङले भने- माधव नेपालजस्तै १० बुँदे सहमतिमा ओलीको चित्त बुझेको थिएन



काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्व सभामुख सुवास नेम्वाङले माधव नेपालको जस्तै १० बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओलीको पनि असहमति रहेको बताएका छन् । तर, पार्टी एकता गर्नुपर्छ भनेर कार्यदलले गरेको सहमतिलाई अध्यक्ष ओलीले स्वीकार गरेको उनले बताए।

सिंहदरवारस्थित संसद् सचिवालयमा विघटित कार्यदलका सदस्यसँग सांसदहरूले गरेको छलफलमा कार्यदलका संयोजक समेत रहेका नेम्वाङले पार्टी एकता जोगाउन सबैले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।‘व्यक्ति–व्यक्तिको कुरा गर्दा माधव नेपाललाई जस्तै केपी ओलीलाई पनि चित्त बुझेको थिएन, कार्यदलका सबै सदस्यले सर्वसम्मतिका आधारमा पार्टी एकताका लागि तयारी गरेका छौं।

सबैले कार्यान्वयन गरेर पार्टी एकता जोगाउनु पर्छ,’ नेम्वाङले भने ।आइतवारको छलफल कार्यक्रमको संयोजन गरेका सांसद यज्ञराज सुनुवारले कार्यदलका सदस्य, सांसद र सबै नेताले हस्तक्षेप गरेर पार्टी एकता जोगाउनु पर्ने बताए ।

ओली र माधव नेपालको निर्णयले मात्र पार्टी चल्न नसक्ने भन्दै सबैले हस्तक्षेप गरेर पार्टी एकता जोगाउनु पर्ने उनले बताए । कार्यदलका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भने बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्