२० हजारमा बलात्कारको घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ७ जना पक्राउ



रोल्पा । बलात्कारको घटना मिलाएको आरोपमा रोल्पा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै मिलाएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ। आफ्नै जेठाजुबाट बुहारी बलात्कार भएको घटना गाउँमै मिलाएको आरोपमा लुंग्री गाउँपालिका वडा नं ४ का वडा सदस्य हिमबहादुर विष्टसहित ७ जना पक्राउ परेका हुन्।

गत साउन २ गते राती बलात्कारको घटना भएपछि अर्को दिन गाउँमा स्थानीय भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएको आरोपमा पीडितका ससुरासहित सोही ठाउँमा दुर्गे विष्ट, नविन विष्ट, पुस्त विष्ट र पुष्ते खड्का समेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। साउन २ गते बिहान ३ बजेको समयमा सो घटना भएको र पीडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए । पीडितका ससुराले अर्कोदिन वडा सदस्य हिमबहादुर विष्टलाई बोलाएर मान्छे जम्मा गरी २० हजारमा कुरा मिलाएका थिए ।

सो रकम मध्ये ५ हजार पीडितलाई दिने र बाँकी १५ हजार गाउँको कोषमा राख्ने स्थानीय भलाद्मीहरुले गरेका थिए । पीडितले ती कुरा आफ्नो माइतीमा खबर गरेपछि प्रहरी समक्ष उजुरी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्