श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारतको जित



एजेन्सी । पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले विजयी भएको छ । कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । घरेलु टोली श्रीलंकाविरुद्ध भारतले १ सय ६५ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका चारिथ असलंकाले ४४ रन बनाए। अभिष्का फर्नान्डोले २६ रन जोड्दा डसुन शनकाले १६ रन बनाए । घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। दिपक चाहरले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान शिखर धवनले ४६ रन जोड्दा सन्जु सामसनले २७ तथा इशान किशनले अविजित २० रन बनाए।श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले २/२ विकेट लिए ।

यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्