आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगमा आज नेताको ‘हेड काउन्ट’ हुने



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद आज टुंग्याउने तयारी गरेको छ । जसपामा चलिरहेको आधिकारिकता सम्बन्धी विवादमा फैसला दिन निर्वाचन आयोगले आज जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको हेड काउन्ट गर्न लागेको हो।

त्यसका लागि नेताहरुलाई सशरीर उपस्थित हुन निर्वाचन आयोगले आदेश दिएको छ। आफ्नो पक्षमा बहुमत सदस्यको उपस्थिति देखाउन जसपाका दुबै खेमा यतिबेला अन्तिम कसरत गरिरहेका छन् । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरू आइतबार साँझदेखि नै गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर आफू पक्षीय सदस्यलाई तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको हो।

रिसोर्टबाट आज सिधै निर्वाचन आयोगमा जाने तयारी यादव पक्षले गरेको छ। आयोगले आजै जसपाका सांसद र कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने अनुमान गरिएको छ। पछिल्लो समय जसपाको संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको स्पष्ट बहुमत देखिँदै आएको छ। गोदावरी रिसोर्टमा पनि संसदीय दल र कार्यकारिणी समितिका बहुमत सदस्यको उपस्थिति छ। गोदावरी रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३३ जना र संसदीय दलका २१ जनको उपस्थिति रहेको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

उनीहरुलाई अध्यक्ष यादव र पार्टीको संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले प्रशिक्षण दिने भन्दै त्यहाँ लगिएको हो। ठाकुर पक्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विवाद तीव्र बनेको थियो। सुरुदेखि नै कांग्रेस, माओवादी गठबन्धनमा सहभागी यादव पक्षले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको थियो।

निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि यादव पक्ष सरकारमा जाने तयारीमा छ। निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समितिको विवाद निरुपण नगरी बहुमत र अल्पमतको परीक्षण गर्न लागेको भन्दै ठाकुरले असन्तुष्टि जनाउँदै आएको छ। ठाकुर पक्षले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको थियो। तर सर्वोच्चले ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

यसबाट अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको अनुमान गर्न थालिएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो। २४ असार २०७४ मा निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्