निर्मला हत्या प्रकरणः सय दिन पूरा, अपराधी कहिले पत्ता लाग्छ ?



कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भएको छ । तर, अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । अनुसन्धानका लागि आधा दर्जन बढी अनुसन्धान टोली खटिए पनि हत्यारा पत्ता नलाग्नुले घटना झनै रहस्यमय बन्दै गएको छ । 

निर्मलाको घटनाको सय दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि पीडित परिवारले न्यायको आश मारेका छन् । प्रहरीले नै घटनाको प्रमाण मेटेको बताउँदै यतिका समयसम्म अपराधी पत्ता नलागेपछि अब पत्ता लाग्ला भन्ने आश नलागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताईन् ।  

‘बम दिदीबहिनीको बोली व्यवहारले गर्दा उनीहरुमाथि शंका गर्ने ठाउँ बनायो’, दुर्गादेवीले भनिन्, ‘ढिलै भए पनि प्रहरीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्यायो । प्रमाण मेट्ने प्रहरी पनि बर्खास्त भए । तर अहिलेसम्म हत्याराको कुनै पत्तो छैन ।’

प्रहरीले अनुसन्धान जारी राखे पनि आफूलाई न्याय पाउने आश मरेको उनले बताइन् । ‘प्रहरी त अनुसन्धानका लागि लागेकै छ’, उनले भनिन्, ‘यतिका दिनसम्म पत्ता नलागेको हत्यारा अब पत्ता लाग्छ भनेर विश्वास गर्ने आधार नै रहेन ।’

प्रहरीले प्रमाण मेटेको पुष्टि

निर्मलाको घटनामा प्रमाण संकलन कार्यमै प्रहरी चुकेको विभिन्न छानबिन समितिको प्रतिवेदनबाट पुष्टि भएको छ । घटनास्थललाई सिलबन्दी नगर्नु, मृतकको गुप्ताङ्ग र लुगा पखाल्नु, बालिकाको अन्त्येष्टिका लागि परिवारलाई अनावश्यक दबाब दिनु, शवसँगै लुगा पनि जलाइनु जस्ता कार्यबाट प्रहरीको लापर्वाही मात्रै होइन, घटनामा प्रहरीको संलग्नतालाई पनि पुष्टि गरेको छ ।

यद्यपि, प्रमाण मेटेको तथ्यका आधारमा तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र वडा कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जगदीश भट्टलाई विभागीय कारबाही गरी जागिरबाट हटाइएको छ । तर, यसरी जानाजान प्रमाण मेट्ने प्रहरीमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने आमनागरिकमा अन्यौलता छ । 

प्रहरी नै प्रमाण मेटेको प्रमाणित भएर विभागीय कारबाही गरिसेकेपछि उनीहरुमाथि कानुनी कारबाही हुनुपर्ने अधिकारकर्मीको माग छ । मुलुकी संहितामा अनुसन्धानलाई बदनियतपूर्ण तरिकाले मोड्ने प्रहरी अधिकृतमाथि कानुनी कारबाहीको व्यवस्था छ ।

डीएनएमै साँघुरियो अनुसन्धान

निर्मलाको घटनामा प्रहरीबाटै अत्यावश्यक र महत्वपूर्ण प्रमाणहरु नष्ट भएपछि अहिले प्रहरीको अनुसन्धान डीएनएमा साघुरिएको छ । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले दावी गरे पनि उनीहरुमाथि के कति आधारमा शंका गरिएको भन्ने खुलेको छैन । प्रहरीले दोस्रो चरणअन्तर्गत मंगलबार चार जनाको डीएनए नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

आवश्यक परेका बेला शंकाको घेरमा परेका अन्य व्यक्तिहरुको पनि डीएनए परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । प्रहरीले डीएनएलाई अनुसन्धानको मुख्य पाटो बनाइरहेका बेला स्थानीयले भने डीएनए रिपोर्टमा नै शंका व्यक्त गरेका छन् । उनीहरुले निर्मलाको भेजाइनल स्वाबमा नै नमुना भए÷नभएको पुष्टि नभएकाले प्रहरीले त्यसमा स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

सुरुमै बम परिवारको घरबाट अनुसन्धान गर्नुपर्ने

निर्मला हराएकै दिन प्रहरीले बम परिवारको घरमा खोजतलास गरेको भए घटनाका बारेमा केही तथ्य बाहिर आउन सक्ने आम बुझाई छ । निर्मलाको परिवारले बमको घरमा खोजतलास गर्न प्रहरी बिट सालघारीमा अनुरोध गरेपछि प्रहरीले गरेको बेवास्ता सबैको चासोको विषय बनेको छ ।

साथै, घटनापछि पनि प्रहरीले बम दिदीबहिनीलाई नै अनुसन्धानको दायरामा ल्याउनु पर्ने थियो । तर, उनीहरु निर्दोष रहेको भन्दै तत्कालीन एसपी विष्टले बम दिदीबहिनीलाई अनुसन्धानकै दायरामा नल्याएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले सुरुमै बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याइदिएको भए केही कुरा बाहिर आउन सक्ने सम्भावना थियो । 

प्रतिक्रिया दिनुहोस्