गरिबलाई निःशुल्क विद्युत दिने प्रयासमा ऊर्जामन्त्री भुसाल



काठमाडौँ : उर्जा, जलस्रोत र सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विषेश सहुलियत दिने उल्लेख गरेकी छिन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनी रहेका निश्चित समुदायलाई निःशुल्क विद्युत दिने उल्लेख गरिन् ।

‘एउटा आधारभूत तहबाट तल रहनेहरूलाई निःशुल्क विद्युत दिनुपर्छ । म सामान्य एउटा गृहकार्य गरिरहेको छु । पछि यसबारेमा मैले जानकारी गराउनेछु । त्यो तहका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ’, मन्त्री भुसालले भनिन्, ‘एकातिर विद्युत उत्पादन भएको छ भन्छौँ हामीहरू, फेरि हाम्रोमा बिद्युतको दर महङ्गो छ । मैले जानेको अर्थशास्त्र जति मात्रामा उत्पादन बृद्धि हुन्छ लागत मात्रा कम हुन्छ । उपभोक्ताको रुपमा मैले प्रयोग गर्दा र प्रतिनिधि सभाको अघिल्लो बैठकमा मैले बजेटमाथि टिप्पणी गर्दा पनि बोलेको थिएँ । उत्पादन बढेपछि सस्तो हुनुपर्ने हो तर हाम्रोमा त उत्पादन बढेपछि मूल्य पनि बढ्ने डर छ ।’

उनले विद्युतको दरमाथि पुनर्विचार गरेर अलि सस्तो बनाउने पक्षमा आफू रहेको र त्यसका लागि आफुले अध्ययन गरिरहेको समेत बताइन् । मन्त्री भुसालले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताइन् । जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुशासनलाई आफूले पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ थियो । उनले सुशासन कायम गर्ने सन्र्दभमा कुनै सम्झौता नहुने, सुशासन कायम नभए आफ्नो लागि सह्य नहुने पनि उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्