एथ्लेटिक्समा पदक जित्ने खेलाडीलाई सम्मान



काठमाडौं– नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत एथ्लेटिक्स तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई आज नेपाल एथ्लेटिक्स संघलेसम्मान गरेको छ ।

नेपाल एथलेटिक्स संघले आज एक कार्यक्रमको आयोजना गरेर एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो । संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ ।

गत मंसिरमा सम्पन्न १३ औं सागमा सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले ५ हजार मिटर र किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन । यस्तै सोम बहादुर कुमालले ८ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरि कुमार रिमालले ५ हजार मिटर र दिपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।

नेपालका लागि पदक दिलाउने खेलाडीहरुलाई एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी र पूर्व सभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए ।

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई संघले बिदाइ पनि गरेको छ । अजितले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन । यसैगरी केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने संघले जानकारी दियो । अजितले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्