ओलम्पिकमा सहभागी सुटिङ र जुडोको टोली आज नेपाल आईपुग्ने



काठमाडौं । टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली सुटिङ र जुडो टोली मंगलबार नेपाल आईपुग्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीले सुटिङ र जुडोका ७ सदस्सीय नेपाली टोली मंगलबार नेपाल आईपुग्ने जनाएको छ ।

नेपाली टिम कतारको दोहा हुँदै काठमाडौं आईपुग्ने छन् । टोकियो ओलम्पिक सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् । यस्तै जुडोकी सोनिया भट्टले महिलाको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । सोनिया पहिलो खेलमै पराजित भएकी थिइन् । राउण्ड अफ ३२ अन्तर्गत भएको खेलमा उनी रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्