कांग्रेस पदाधिकारी बैठक आज बस्दै, क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि छलफल हुने



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रस नेता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफल हुने छ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ९८ प्रतिशत काम सकेर आफ्नो प्रतिवेदन बुझाउने भएको छ। असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाउन लागेको हो। समितिले मंगलबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यहरुको नामावली बुझाउदै छ।

आजको पदाधिकारी बैठकमा समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ । आजको बैठकमा फेरफेर भएका महाधिवेशनका कार्यतालिकालाई कसरी अघि बढाउँदै महाधिवेशन निर्धारित मितिमै अघि बढाउन सकिन्छ भन्नेबारेमा पदाधिकारीहरुले राय दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । सभापति देउवाले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि कतिपय नेताहरु रूष्ट छन् । उनीहरुले यसबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्