पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री



पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवर्धन गरिनुपर्नेमा जोड दिएका छन् । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताए ।

उनले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । जनस्तरबाट शुरु गरी पुम्दीकोटमा यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै उनले विगत वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए । प्रदेश सरकारले यस वर्ष पनि रु ५० लाख पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । पुम्दीकोटको महत्वलाई बुझेर क्षमताअनुसार सहयोगका साथै आसपासका बाटोका निर्माणका लागि सङ्घ सरकारसँग समन्वय गर्ने उनले बताए ।

अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउँदै धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उल्लेख गरे । उनले राज्यस्तर र जनस्तरबाट लगानी भएको यस परियोजनालाई सार्थक बनाउने जिम्मा आफूहरूकै रहेको बताए । कार्यक्रममा मन्त्री कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापासहित प्रदेशसभा सदस्यको उपस्थिति थियो । कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवर्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरूको निर्माणले यसमा अझै टेवा पुग्ने बताए ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रूप लिएको भन्दै विश्वकै पर्यटक आकर्षण गर्ने स्थलका रूपमा यसको विकास गर्न लागिएको र सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे । पुम्दीकोटलाई शिवधामका रूपमा स्थापित गरी धार्मिक केन्द्रका रूपमा विकास गरेमा स्वाभाविकरूपमा आम्दानी बढेर जाने उनको भनाइ छ । नेपाली कांग्रेसका नेता खेमराज पौडेल, वडाध्यक्ष मित्रलाल बराल, पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बराल, सचिव प्रकाश बराल, आर्किटेक्ट इञ्जीनियर बाबुराम बराललगायतले पुम्दीकोटको धार्मिक पर्यटकीय सम्भावनालगायत विषयमा बोलेका थिए । पुम्दीकोटमा राखिएको महादेवको मूर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालका अनुसार अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ र २५ प्रतिशत काम पनि छिट्टै सकिने छ ।

प्रतिक्रिया दिनुहोस्