सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहमा पुनः कडाइ



बागलुङ । कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डे मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।

जैमिनीका नगर प्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पनि १८ गते सम्मलाई बन्द गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए। नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुराँ, विद्यालय, यातायात लगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ ।

कोरोना सङ्क्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धौलागिरी अस्पतालमा मृत्यु भएको थियो । यसअघि गत शनिबार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । सङ्क्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका–१० मा पनि टोलटोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ।

विद्यालय, संघ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा यही १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । खुकुलो प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ।

बीचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको संख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन्। तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण बागलुङमा हालसम्म ६१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्