साल्ट ट्रेडिङको डिपो वालिङमा स्थापना



वालिङ : कृषकलाई सहजरुपमा मलखाद तथा अन्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यहाँ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालय स्थापना भएको छ ।

कार्यालय प्रमुख नगेन्द्र थापाले जिल्लामा पहिलो पटक डिपो खोलिएको जानकारी दिए । उनले भने “डिपो स्थापनासँगै पहिलो चरणमा यहाँका कृषकको मागलाई दृष्टिगत गर्दै अनुदान तथा गैरअनुदानका मलखाद तथा अन्य सामग्री बिक्री वितरण गर्छौं । ” पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोही मार्फत कृषकलाई मलखाद उपलब्ध गराइने छ ।

डिपोले अनुदानमा युरिया, डिएपी र पोटास उपलब्ध गराउनेछ भने बहुतत्वयुक्त मल गैरअनुदानमा बिक्री गर्ने छ । डिपोबाट एसएसपी सादा, जिङ्क, एसएसपी बोरन, एमोनियम सल्फेट गरी चार प्रकारका मलहरु उपलब्ध गराउने प्रमुख थापाले जानकारी दिए । आगामी दिनमा यहाँका सेवाग्राहीको मागका आधारमा डिपोमार्फत नुन, चिनी लगायतका अन्य सामग्रीहरु सस्तो सुपथ मूल्यमा उपलब्ध गराउने छ । सदरमुकाममा रहेको कृषि सामग्री कम्पनीबाट रासायनिक मल ल्याउँदा ढुवानी बढी लाग्ने गरेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । डिपो स्थापना भएपछि ढुवानी कम भई मूल्य पनि घट्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्