पर्ख र हेरको अवस्थामा ठाकुर समूह, संसद बैठकमा अनुपस्थित



काठमाडौं : निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिता प्रदान गरेपछि महन्थ ठाकुर समूहका प्रतिनिधि सभा सदस्यहरु मंगलबारको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भएका छन् ।

दुई समूहमा विभाजित जसपाको आधिकारिता सोमबार उपेन्द्र समूहलाई आयोगले दिएको थियो । ठाकुर समूहलाई भने अर्काे राजनीतिक दल दर्ता गर्ने मौका आयोगले दिएको छ । आयोगको निर्णयानुसार आधिकारिता नपाएपछि भावी रणनीति तयार गर्न ठाकुर समूहको बैठक मंगलबार दिनभरि जसो बबरमहलस्थित पार्टी कार्यालयमा बसेको थियो ।

बैठकमा आगामी कदम कसरी चाल्ने र पार्टी गठन गर्न आयोगले दिएको निर्णयपछि कसरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । आयोगको निर्णयपछि दलविहीन अवस्थामा पुगेको भन्दै बैठकमै उपस्थित सांसदहरुले मंगलबारको बैठकमा अनुपस्थित हुनुपर्ने सुझाव दिएका थिए । संसदमा उपस्थित भए कुन रोहमा बस्ने भन्ने अप्ठयारो स्थिति आउनसक्ने भएकाले केही दिन संसद बैठकमा अनुपस्थित हुने निर्णय लिइएको एक नेताले बताए ।

उपेन्द्र समूहका सांसदहरु भने सत्तारुढ दलहरुको रोहमा बसेका थिए । ठाकुर समूह भने कानुनविद्हरुसँगको परामर्शपछि मात्रै आगामी कदम चाल्ने भएका छन् । उता सर्वाेच्च अदालतले साउन १५ गते अन्तरिम आदेशको छलफलका लागि बोलाएकाले त्यस दिनसम्म कुर्नुपर्ने निष्कर्ष बैठकमा निकालिएको थियो । आयोगले गरेको सनाखतविरुद्ध ठाकुर समूह पहिल्यै सर्वाेच्च अदालत पुगिसकेको छ । सर्वाेच्चले साउन १५ गते आयोग समेतका विपक्षीलाई बोलाउने आदेश दिएको छ । त्यस दिन आयोगको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा दुवै पक्षको उपस्थितिमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्