अंग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण



सिन्धुली : प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन् ।

सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गरेका हुन् । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो ।

सिन्धुलीगढीमै निर्माण भएको नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्