प्रदेश प्रमुख अहिराजका अविस्मरणीय कार्य



जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजलाई सरकारले पदमुक्त गर्ने तयारी गरेको छ । तर उनले आफ्नो छोटो कार्यकालमा प्रदेश सरकारभन्दा बढी लोकप्रीयता हासिल गरेका पाइएको छ ।

मधेशको छुटै सरकार प्रशासन हुने मागसहित मधेश आन्दोलनमा होमिएका मधेशवादी दलको नेतृत्वमा रहेको प्रदेश २ को सरकारले अपेक्षाअनुकूल काम गर्न सकेनन् । मधेश आन्दोलनमा शहीद भएका परिवार र घाइते परिवारका अवस्थामा कुनै परिवर्तन आएन । विकास निर्माणको कुरै नगरौ मन्त्री जहाँ त्यहाँ बजेट प्रदेश सभाका सदस्यको क्षेत्रमा मात्रै विकास बजेट जाने र आफ्ना आसेपासे कार्यकर्ताहरुलाई मात्र वितरण गर्ने गरियो । त्यति मात्र होइन, समावेशीको नारा दिने मधेशवादी दल जनता समाजवादी पार्टीकै नेतृत्वमा रहेको प्रदेश सरकार स्वयं समावेशी चरित्रको छैन, बनाइएन ।

यिनै यावत विषयहरुले असफलता प्राप्त गर्दैगएको अवस्थामा मधेश मामिलाका जानकार, विज्ञ, विश्लेषक र प्रदेश २ कै बासिन्दा डा. अहिराज प्रदेश प्रमुख भएर गएका थिए । प्रदेशवासीको भावना र चाहनालाई ध्यानमा राखेर प्रदेशको सर्वाङगिण विकासतर्फ ध्यान पुर्याउन थालेपछि उनीविरुद्ध प्रदेश सरकार नै लागि पर्यो । प्रदेशका नागरिकलाई मतलब नै नराख्ने प्रदेश सरकारका मन्त्रीहरुलाई भेट्न धौ धौ पर्नै स्थानीय वासिन्दाहरुलाई प्रदेश प्रमुख सहज र सरल रुपमा आफ्नै घरआँगनमा भेट्न थाले । संवैधानिक पदको मर्यादालाई ख्याल राख्दै उनले प्रदेश प्रमुखको हैसियतले उत्कृष्ट कार्यहरु गरेका छन् । जसलाई प्रदेशका वासिन्दाले कहिल्यै बिर्सने छैनन् ।

प्रदेश सरकारले छुट्याउने बजेट वितरणमुखी मात्रै नभएर कार्यान्वयनमुखी र परिणाममुखी हुनुपर्ने भन्दै उनले बजेटको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन पहल लिए । मुख्यमन्त्री लालबाबु राउतले जसपामा विभाजन आएसँगै काँग्रेसलाई मन्त्रिपरिषदमा सहभागी गराउन गरेको पछिल्लोपटकको मन्त्रिपरिषद विस्तारमा समावेशी चरित्र देखिएपछि उनले सरकारको ध्यानाकर्षण गराएका थिए । महिला, दलित, जनजाति र प्रदेशकै गैरमधेशी समुदायको प्रतिनिधित्व मन्त्रिपरिषदमा नभएपछि चौतर्फी गुनासो र आलोचनापछि प्रदेश प्रमुख अहिराजले सरकारलाई नेपालको संविधानले प्रदान गरेको समानुपातिक समावेशी सिद्धान्तबमोजिमको स्वरुप प्रदान गर्न ध्यानकर्षण गराएका थिए ।

प्रदेश प्रमुखकै त्यो पहलसँगै जनकपुरका एक अधिवक्ताले जनकपुर उच्च अदालतमा मुद्दा दायर समेत गरेका थिए । त्यो मुद्दामा तत्काल अन्तरिम आदेश नभए पनि अझै विचाराधीन अवस्थामा छ । उनले प्रदेशअन्तर्गतका कतिपय विद्यालयमा पुगेर विद्यालयको अवस्था र पठनपाठनको अवस्थासमेत नजिकबाट नियालेका छन् । त्यस क्रममा उनले विद्यार्थी तथा शिक्षकसँग विद्यालयको अवस्था बुझ्नुको साथै कक्षाकोठामा गएर साना साना बालबालिकालाई पढाएका पनि थिए । कामविशेषले पर्साको वीरगञ्ज जाँदै गर्दा सवारी दुर्घटनामा घाइते भएर पूर्वपश्चिम राजमार्गमै छटपटाइरहेकाहरुलाई आफ्नै गाडीले उद्धार गरी उनले अस्पताल पुर्याएका थिए । पश्चिमको भ्रमणमा जाँदासमेत उनले यो उद्धार कार्य दोहोराएका थिए । उनको त्यो कामको देशभरि प्रशंसा भएको थियो । उनले आफ्नो प्रोटोकल र मर्यादालाई ख्याल नगरी घाइतेलाई प्राथमिक उपचारमा सघाए ।

प्रदेशको किसानहरुको अवस्था बुझ्न उनी गाउँ गाउँ पुगे । खेतमै पुगेर किसानहरुसँग भलाकुसारी गरे, खेत बालीका अवस्था बुझे, सरकारबाट सहयोगका बारेमा छलफल गरे । किसानहरुको दुःखेसो सुनेपछि उनले सरकारसँग किसानको हक हित र मल खाद्य र अन्य कृषिजन्य सहयोगका बारेमा सहयोगका वचन दिए । सरकारसँग कृषि र कृषकमुखी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न ध्यानाकर्षण गराए । प्रदेश प्रमुख अहिराजले मधेशका पुत्र भएर पनि प्रदेश सरकारबाट उपेक्षित सिरहाका मास्टर सेफ सन्तोष साहलाई सम्मान गरे । वेलायतमा नाम गरेर फर्केका उनलाई अहिराजले स्वागत र सम्मान गरेर नेपाली हुनुको गौरव दिलाए । मधेशमा रहेर विभिन्न क्षेत्रमा नाम कमाएर तर आफ्नै देश प्रदेशले सम्झन नसकेका कयौं प्रतिभा र व्यक्तित्वलाई प्रदेश प्रमुखले कार्यालयमा बोलाएर वा उनीहरुकै निवासस्थल गएर सम्मान गरे । त्यसले उनीहरु भावविभोर भएको घटनाले प्रदेशमा विशेष चर्चा नै पाएको थियो । मधेश आन्दोलनका शहीद र घाइते परिवारसँग विशेष सामीप्यता राख्दै उनले सम्मान र आदरभाव प्रकट गरेपछि ती परिवार प्रफुल्लित भएका थिए ।

समग्रमा प्रदेश प्रमुख अहिराजको यिनै लोकप्रियता र कार्यशैलीबाट डराएर प्रदेश सरकार अहिले उनलाई पदमुक्त गराउने तयारी गरेको छ । सघीय राजनीतिमा आएको परिवर्तन र उपेन्द्र नेतृत्वको जसपाले आधिकारिता पाएपछि जसरी पनि प्रदेश प्रमुखलाई हटाउने र आफ्ना आफन्तलाई नियुक्ति गराउने तयारीमा सो समूह लागेका छन् । यद्यपि यो राजनीतिक पद हो, आउँछ जान्छ तर जनतासमक्ष गरेका कामले उनलाई प्रदेशले सम्झिरहन्छ । संघीय सरकारले हटाउने भनी गरिएको तयारीप्रति उनी भन्छन्–‘यो त राजनीतिक पद हो, आउँछ जान्छ, म रहँला नरहुँला आफ्नो ठाउँमा छ, तर जति रहियो देश र प्रदेशका लागि काम गरियो, प्रदेशवासी खुशी छन् भने मेरो लागि धेरै हो ।’ शिरमा देश र मनमा मधेश सम्झेर काम गरेको बताउँदै प्रदेश प्रमुख अहिराजले छोटो अवधिमा पनि लामो सम्झना हुने गरी विर्सन नसकिने काम गरेको विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुख भएपछि पहिलो दुई महिनाको तलब भत्ता उनले सामाजिक उत्कृष्ट कार्यमा खर्च गरे । उनले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्र र आगोले जलेर घाइते भइ बर्न अस्पतालमा उपचाररत एक बालिकालाई उनले आफ्नो तलबभत्ता रकम हस्तान्तरण गरेका थिए । प्रदेश प्रमुखको हैसियतले गरेका कामकारबाहीको फेहरिस्त नै छ । कानुन र संविधानअनुकूल नभएका विधेयक उनले प्रमाणीकरण रोकेर परिमार्जनाका लागि प्रदेश सरकारलाई कयौंपटक फिर्ता गरेका थिए । उनले प्रदेशवासीको हक हित हुने विषय समावेश गरेर ल्याउन गरेको आग्रहबमोजिम परिमार्जन भएर आएका कानुनहरु प्रदेश २ मा जारीसमेत भएका छन् । जसले प्रदेशका लागि उदाहरणीय छन् ।

प्रतिक्रिया दिनुहोस्