सत्ता लिप्साले बरालिने सांसद अस्थिरताका पृष्ठ पोषक



काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राज्य सत्ता सम्हालेको धेरै भएको छैन । तर यही छोटो अवधिमा नेपाली राजनीतिमा निकै अपत्यारिलो किसिमका घटनाक्रम एकपछि अर्को देखिए । आश्चर्यको कुरा त के भने तत्कालिन प्रधानमन्त्री केपी ओलीका कट्टर समर्थकहरु पनि देउवा सत्ताको कुर्सीमा विराजमान भएपछि देउवाकै पक्षमा देखिए ।

भनिन्छ, राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन, यो भनाइ दोस्रो पटक संसद पुनःस्थापनासँगै देउवा प्रधानमन्त्री बनेपछि देखिएका राजनीतिक परिदृष्यबाट पुष्टि हुन्छ । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ (५) लाई टेकेर पाचौँ पटक असार २९ गते प्रधानमन्त्रीको सथप लिएका देउवाले पुनःस्थापित संसदको पहिलो दिनकै दोस्रो बैठकमा विश्वासको मत पनि लिए ।

हिजो केपी ओली सत्तामा रहँदा विपक्षीको चर्को आलोचना गर्दै ओलीकै गुनगान गाउने प्रेम आले, किशन श्रेष्ठ, बिनादेवी बुढाथोकी, धनबहादुर बुढा, अन्जना विसंखेसहितका सांसदहरुले नै देउवालाई विश्वासको मत दिए । यसबाट हाम्रा नेताहरुमा पद लोलुपता कतिसम्मको छ भन्ने सहजै बुझ्न सकिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त पार्टीभित्रका सांसदहरुको ‘मन्त्रीमोह’बारे मुखै फोडेर खुलासा गरे । ‘मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ पार्टी कार्यालय पेरिस डाँडामा साउन ९ गते आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए ।

‘यहाँ मन्त्री वा आफूले चाहेको पद नपाए नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ’, प्रचण्डको भनाइ थियो । तत्कालिन नेकपा विभाजन पछिको ओली नेतृत्वको सरकारभन्दा बलियो देउवा सरकारमा मन्त्री बन्ने दौडमा अन्य पार्टीका सांसद पनि क्यूमा छन् । यसबाट के प्रष्ट हुन्छ भने– प्रचण्डको जस्तो नियति अरु पार्टी र गुटका नेतृत्वले पनि भोगिरहेका छन् ।

माओवादी सांसदपछि यसको अर्को उदाहरणका रुपमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसदहरुलाई लिन सकिन्छ । ओली सरकारमा जसपाका बहुमत सांसद सत्तातिरै थिए भने आज देउवा सरकारमा पनि बहुमत सांसद सत्तातिरै तानिएका छन् । महन्थ ठाकुरले प्रतिगमनकारी ओलीलाई साथ दिएको भन्दै विपक्षी दल कांग्रेस र माओवादी केन्द्र सँग गठबन्धन गरेको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा सत्ता परिवर्तनसँगै सांसद ओहिरिए । यी नै बहुमत सांसद र कार्यकारिणी सदस्य संख्याका आधारमा निर्वाचन आयोगले महन्थ पक्षलाई नयाँ पार्टी दर्ता गर्न सक्ने सुझावसहित उपेन्द्र–बाबुराम पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

विपक्षी गठबन्धन सत्तापक्षीय गठबन्धनमा परिणत भएसँगै मन्त्री बन्ने र पाउने आशामै महन्थलाई एक्ल्याएर धेरै सांसद उपेन्द्र–बाबुराम (जसपा) पक्षमा लागेका देखिन्छन्, यो यथार्थ सर्वसाधारणले बुझेकै छन् । यद्यपि, सदाबहार सत्तामा लीन हुन चाहने स्वयम् सांसदहरुले यो कुरा नस्वीकार्लान्, त्यो कुनै नौलो बिषयमा पनि होइन । किन भने जत्तिसुकै ठूलो गल्ती गरेर पनि त्यसविरुद्ध सफाइ दिन हामीलाई हाम्रा नेतृत्वले नै सिकाएका छन् ।

जो सत्तामा आउँछ उतै ढल्किने नेताहरुको यस्तो घृणित प्रवृत्तिले अझ अस्थिरतालाई मलजल गर्ने मात्र नभइ नेताहरुको यस्तै सत्ता लिप्साका कारण जनताको ठूलो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र/ लोकतन्त्र र संविधान नै खतरामा परेको नागरिक अगुवाहरुको ठहर छ । जता पद पायो त्यता, अझ जसले सम्मानित र प्रतिष्ठित पद दिलाउँछ उतै तानिने नेताहरु आफै अस्थिरताका पृष्ठ पोषक हुन् भन्दा दुई मत नहोला ।

प्रतिक्रिया दिनुहोस्