भारतमा थप ४३ हजार ६५४ जना संक्रमित



नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ । सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो ।

हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोनामुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमण मुक्त भएकाहरुको यो सङ्ख्या ९७।३९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्