छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी



कालीकोट : तिलागुफा नगरपालिका–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयले विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गरेको छ । जिल्लामा दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गर्ने उक्त विद्यालय पहिलो हो । सबै महिला शिक्षक मात्र रहेको जिल्लाकै एक नमूना रहेको उक्त आधारभूत विद्यालयले नगरपालिकाको समन्वयमा नेपाल इन्भेस्टमेन्ट बैंकमा विद्यालयका सबै विद्यार्थीको खाता खोलेर दिवा खाजा र छात्रवृत्तिको रकम भुक्तानी गर्न शुरु गरेको हो ।

विद्यालयले विद्यार्थीको दिवा खाजाबापत रु दुई लाख ६२ हजार ५०० र छात्रवृत्तिबापतको रु ६३ हजार ८०० विद्यार्थीको खातामा जम्मा गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन नेपालीले बताए । हाल कालीकोटका सबैजसो विद्यालयका विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम विद्यालयले हातहातमा नै दिने गरेका छन् ।

जिल्लाका धेरैजसो नाम चलेका विद्यालयले बालबालिकाले पाउने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको रकम अनियमितता गरेको गुनासो आउने गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख महेश देवकोटाले बताए । बाल शिक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ११८ बालबालिका अध्ययनरत रहेको र विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको प्रधानाध्यापक तुलासा पाण्डेले जानकारी दिए । विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्