चितवनका स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध



चितवन : वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्यसामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य भूर्तेलले वाग्मती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व दिएर स्वास्थ्य सामग्री सहयोग गरेको बताए । जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेको बताउँदै उनले भने, “स्वास्थ्य सेवाका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको छ ।” उनले स्वास्थ्य सेवा शहर केन्द्रित नगरेर जिल्लाका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको लागि तयारी गरिरहेको बताए । तेस्रो लहरको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पिसिआर मेसिन सञ्चालन, अक्सिन प्लान्ट जडानको काम भइरहेको उनको भनाइ थियो । सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताए । उनले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्