माओवादीले कारबाही गरेका चार नेताको रिटमा पेसी आज



काठमाडौं । निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । आफूहरूले कानुनी रूपमा माओवादी नछाडेको उनिहरुले तर्क गरेका छन ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । ती रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।

प्रतिक्रिया दिनुहोस्