कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका संशोधन मुख्य एजेन्डा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठक पनि पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित हुने कांग्रेसले बताएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको १४ औं महाधिवेशन अनिश्चित भएका बेला बस्न लागेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ । बुधबारको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि १ दिनको समय प्रदान गरेको थियो ।

आजको बैठकले महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ । कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ ।आजको बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ ।

सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डा टुंगिए आजैको पदाधिकारी बैठकबाट थप मन्त्रीको नाम टुंगो लगाउने प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्