साढे तीन लाख नगदसहित काठमाडौँबाट पाँच जुवाडे पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँको नारायणटारबाट साढे तीन लाख भन्दा धेरै नगदसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए।

मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर उतामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो। जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्