प्रधानमन्त्री निवासमा देउवा–प्रचण्ड भेटवार्ता, मन्त्रिमण्डल विस्तारको तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीका स्वीकय सचिव भानु देउवाका अनुसार दुई नेताबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा छलफल भएको हो।

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनमा आबद्ध दलबीच छलफल जारी रहेका बेला प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन । देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुदै आएको छ ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।जवाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए ।

सोही अनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्