वीरगञ्जमा मानव साङ्लो बनाएर प्रदर्शन, निर्मलाको हत्यारा पत्ता लगाउन माग



पर्सा : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुगिसक्दासमेत हत्यारा पत्ता नलगाएको भन्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ ।  वीरगञ्जको घण्टाघरमा मानव साङ्लो बनाएर न्याय दिलाउन माग गरिएको हो ।

वीरगञ्जमा विभिन्न संघ संस्थामा आवद्ध युवा, विद्यार्थीहरु मिलेर मानव साङ्लो निर्माण गरेका थिए । घटना भएको सय दिन पुगीसक्दासमेत निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रशासन र सरकारलाई दवाव दिन र निर्मलाको परिवारलाई हामी साथ छौं भन्ने सन्देश दिन मानव साङ्लो निर्माण गरिएको सहभागीले बताएका छन् । 

सहभागीहरुले निर्मलाको हत्या भएको सय दिन पुगेको झल्को दिन मानव साङ्लोमार्फत सय बनाएर केहिबेर प्रदर्शन गरेका थिए । मानव साङ्लो निर्माणमा सहभागीहरुले प्ले कार्ड मार्फत ‘जस्टिस फर निर्मला’ भन्ने नारा समेत बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्