माओवादी पूर्वसांसदको निवेदन ‘हेर्न नभ्याइने’मा



काठमाडौं– माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

नेकपा (एमाले) प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

चारै जनाको निवेदनमाथि आज सुनुवाइ तोकिएको थियो। ‘हेर्न नभ्याइने’मा परेको उनीहरूको निवेदनमाथि अब १५ साउनमा सुनुवाइ तोकिएको छ।

सर्वोच्चको गत २३ फागुनको आदेशपछि एमाले र माओवादी ब्युँतिएका थिए। माओवादीका तत्कालीन सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह एमालेमा प्रवेश गरेका थिए। २८ फागुनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले चारै जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

त्यसपछि माओवादीले चारै जना सांसदलाई कारबाही गरेको थियो। माओवादी केन्द्रीय कमिटीको सिफारिशमा संसद् सचिवालयले पनि उनीहरूको सांसद पद रिक्त भएको सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्