भिजिट मधेस नेपाल अभियान सुरु, पर्यटकलाई मधेसका जिल्लामा आर्कषित गरिने



वीरगञ्ज : प्रदेश २ मा ‘भिजिट मधेस नेपाल अभियान’ सुरु भएको छ । ‘मधेसको भ्रमण नगरी नेपाल भ्रमण पूरा हुँदैन’ भन्ने सन्देशका साथ यो अभियानको सुरु गरिएको हो ।

काठमाडौं आउने विदेशी पर्यटकलाई तराई मधेसका जिल्लामा समेत आर्कषित गर्नका लागि भिजिट मधेस नेपाल अभियान सुुरु गरिएको संयोजक ओम प्रकाश सर्राफले जानकारी दिए । ‘मधेसमा पनि पर्यटनको सम्भावना छ तर जति पहल र प्रयास हुनुपर्ने हो भएको छैन,’ उनले भने, ‘हामीले यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर आन्तरिक र वाहृय पर्यटकलाई भित्र्याउन सहयोगी भूमिका निर्वाह गर्छौ ।’

भिजिट मधेस नेपाल अभियानले शुक्रबार पहिलो कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रदेश २ का पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २ मा पनि पर्यटनको प्रचुर संभावना रहेको बताए । ‘गौतमबुद्धको जन्मभूमि, जनक, सीता र सलहेशको भूमि, ऐतिहासिक र धार्मिक दुवै हिसाबले मधेसको भूमि पवित्र भूमि छ,’ उनले भने, ‘युरोप, अमेरिका लगायतका देशबाट आउने पर्यटकलाई, सिम्रौनगढ, गढीमाई, जनकपुर लुम्बिनीमा अल्झाउन सकिन्छ । सकारात्मक ऊर्जासँगै प्रचारको आवश्यक छ । पर्यटकका लागि राम्रो खाना खाने, बास बस्ने र यातायातको सुविधा भने दिन सक्नुुपर्छ ।’

कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले तराई मधेसमा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन आवश्यक रहेको बताए । पर्यटन र कृषिलाई सँगै जोडेर अघि बढे प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने उनले बताए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत वीसी प्रधानले भारत र चीन जस्ता ठूलो देशको बीचमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालले पर्यटन भित्र्याउन आवश्यक पूर्वाधार मात्रै खडा गरे पुग्ने बताए । उनले जलविद्युत उत्पादन गर्नुको साथै पर्यटन प्रवर्द्धन गरेर नेपालले ठूलो लाभ लिन सक्ने बताए ।

पत्रकार चन्द्रकिशोरले मानिसहरुले राजनीतिक पहिचान पाएपछि फरक क्षेत्रमा पहिचान खोज्न सुरु गर्ने बताए । प्रदेश २ मा रहेका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्