एन्फाको कार्यसमिति बैठक आज बस्दै



काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । एन्फा कम्प्लेक्समा बस्ने आकस्मिक बैठक अपरान्ह ४ बजेका लागि डाकिएको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाइएको आरोपबारे छलफल हुनेछ ।

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका थिए । नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए ।

उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए । यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए । यस्तै बैठकमा नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्