सरस्वती बाहिरिएसँगै टोकियो ओलम्पिकमा सकियो नेपालको यात्रा



काठमाडौँ : जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् । उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् ।

उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् । युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२ः५५ सेकेण्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।

प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् । सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बनेको हो ।

यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राषट्रिय कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्