क्रियाशील सदस्यता विवाद टुंग्याउनेबारे देउवा, पौडेल र सिटौलाबीच छलफल हुँदै



काठमाडौँ : नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो । जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए । समितिका प्रवक्ता प्रदिप पौडेलका अनुसार विवाद ९६ प्रतिशत हल भइसकेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान गर्न बैठक राखिएको जानकारी दिए ।

उनकाअनुसार बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी हुनेछन् । कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ ।

विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित भएको छ । अधिवेशनका लागि अर्को मिति तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्