झापा । कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो। विहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार राती देखी झापा जिल्ला पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको उपाय स्वरूप निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। उनका अनुसार साउन १६ गते शनिवार राती १२ बजे देखी लागु हुनेगरी साउन २३ गते राति १२ बजे सम्मको लागी पूर्ण निषेधाज्ञा घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणको लागी आह्वान गरेको छ । यस बिचमा हाट बजार मेला जात्रा महोत्सव लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्न नपाइने भनिएको छ।
औषधी पसल, ग्यास तथा पेट्रोल पम्प बाहेक सम्पूर्ण बजार पसल बन्द हुने आदेश गरिएको छ। हरियो सागसब्जीको हकमा भने बिहान ६ देखी ८ बजेसम्म बिक्री वितरणको लागी समय छुटाइएको छ। अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधन हरू २३ गते राति १२ बजेसम्मको लागी पूर्णरुपमा रोक लगाउने निर्णय भएको प्रजिअ तिम्सिनाले बताए। तर पूर्वपश्चिम राजमार्गमा लामो दरीका सवारी सञ्चालन गर्न पाइने भएको छ। उद्योग धन्दा सञ्चालनको हकमा कर्मचारी तथा कामदारलाई उद्योग भित्रै खान बस्नको व्यवस्था मिलाउनुपर्ने भएको छ । जन्ती जाँदा अधिकतम १० जना र मृत्यु संस्कारमा अन्यत्र जानुपर्ने भए स्थानीय पालिकाको अनुमति चाहिने निर्णय भएको छ।
काँकडभिट्टा नाका बाहेक अन्य नाकाबाट बस्तु तथा मानिस आवत जावतमा रोक लगाइने र नेपाल प्रवेश गर्दा अनिवार्य एन्टिजेन परीक्षण गरिने प्रजिअ द्वारा जारी आदेशमा उल्लेख गरिएको छ। सार्वजनिक तथा निजी कार्यलयमा न्यूनतम कर्मचारीको उपस्थितिमा आन्तरिक काम कारबाही अगाडी बढाउन सकिने भएको छ । कर्मचारीको हकका बिहान ९ देखी १० बजेसम्म र साँझ ५ देखी ६ बजेसम्म निजी तथा सार्वजनिक सवारीमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ। यस अघि झापाका १० वटा पालिकाले आन्तरिक निषेधाज्ञा घोषणा गरिसकेका छन्।
मेचीनगर, हल्दीबारी, बुद्धशान्ति, दमक, शिवसताक्षी, बिर्तामोड, अर्जुनधारा, कनकाई, गौरादह, कमल सिल गरिएको छ । त्यस बाहेक कचनकबल, गौरीगन्ज, झापा गाउँपालिका जिल्ला प्रशासन कार्यालयले सिल गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयका झापाका अनुसार २ हजार ७८५ जना संक्रिय संक्रमित रहेका छन्। प्रदेश भरीका अन्य जिल्लाको तुलनामा संक्रमितको संख्या सबै भन्दा बढी झापा जिल्लामा रहेका छन्। प्रदेशका हाल संक्रिय संक्रमितको संख्या ७ हजार ७५० जना रहेका छन्।