सानेपास्थित काँग्रेस कार्यालयमा तीन जिल्लाको धर्ना जारी



काठमाडौं । नेपाली काँँग्रेसको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहट, बारा र कैलालीका नेता कार्यकर्ताहरु धर्ना दिइरहेका छन् । उनीहरुले क्रियाशील सदस्यतासम्बन्धी निर्णय पुनर्विचार गर्न माग गरिरहेका छन् ।

रौतहट जिल्ला संसदीय क्षेत्र नम्बर १ का नेता कार्यकताहरु सानेपास्थित केन्द्रीय कार्यालयमा गत नौ दिनदेखि निरन्तर धर्नामा छन् । क्षेत्र नम्बर १ अन्तर्गतका ४१ वडामध्ये ३१ वडामा पुराना कार्यकर्ताहरुलाई फाराम नदिएर आफू निकटका व्यक्तिलाई विधि प्रक्रिया मिचेर क्रियाशील सदस्यता वितरण गरिएको उनीहरुको आरोप छ । पुराना कार्यकर्ताहरुको नवीकरणसमेत नगरी अनावश्यक रुपमा पार्टीमै नरहेका नयाँ व्यक्तिलाई क्रियाशील सदस्यता दिएको आरोप लगाइएको छ ।

नेपाली काँग्रेसको विधानमा क्रियाशील सदस्यताका लागि सम्बन्धित वडा/गाउँ/नगर/प्रदेश सभा क्षेत्र/संघीय क्षेत्रको कार्यसमितिबाट निर्णय गरी सिफारिश पठाउनुपर्ने प्रावधान छ । तर ती स्थानहरुमा कुनै तहको कार्यसमितिको निर्णय बेगर नै आफूखुशी मनपरी तवरले क्रियाशील सदस्यता पठाइएको आरोप दुर्गा भगवती गाउँपालिकाका श्यामचन्द्र झाले बताए । आफू महासमिति सदस्य रहेको भए पनि आफूलाई फाराम नै नदिएको, बहुमत कार्यसमिति सदस्यहरुको निर्णयलाई वेवास्ता गरेर पुराना व्यक्तिलाई नवीकरण नगरी नयाँ व्यक्तिलाई सदस्यता दिइएको उनले आरोप लगाए ।

क्षेत्र नम्बर १ मा पुराना ९८ जनाको नवीकरण छुटाइएको धर्नामा बसेका उदय यादवले बताए । बहालवाला जिल्ला कोषाध्यक्ष रामश्रेष्ठ साह, महासमिति सदस्यहरु डा. देवचन्द्र मिश्र, ब्रजकिशोर सिंह लगायत सन्तलाल साह, भोगेन्द्र झा र नवलकिशोर साह लगायतका पुराना नेता कार्यकर्ताहरुकै क्रियाशील सदस्यता नवीकरण नगरिएको उनले बताए ।

जिल्ला कार्यसमितिका २७ जनामध्ये १७ जना, क्षेत्रीय कार्य समितिका २६ जनामध्ये २२ जना र अर्काे क्षेत्रीय कार्यसमितिका १० जनामध्ये नौ जना आफूहरुको पक्षमा रहेको भए पनि जिल्ला नेतृत्वले बहुमतको निर्णयविपरीत सदस्यता वितरण गरेको नवलकिशोर साहले बताए । वडा समितिबाट विधिवत निर्णयसहित सिफारिश गरी पैसा बुझाएर भौचरसमेत पठाए पनि क्रियाशील सदस्यता नदिइएको तथा त्यस स्थानमा अर्कै व्यक्तिको नाममा पठाइएको आरोप उनले लगाए ।

राजदेवी नपा वडा नम्बर १ मा १२ जना, वडा नम्बर ५ मा सात जना, गौर नपाको वडा नम्बर ५ मा २० जना र यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठामा ४२ जना, दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ मा ११ जना र वडा नम्बर ३ मा ३४ जना नयाँ क्रियाशील सदस्यता थप गरिएको डा. देवचन्द्र मिश्रले बताए । फोरम लोकतान्त्रिकबाट समायोजन हुने संख्याभन्दा बढी थप गरी समायोजन गरिएको उनले आरोप लगाए ।

विधि प्रक्रियाविपरीत गरिएको क्रियाशील सदस्यता विवादको विधानसम्मत तवरले समाधान नभएसम्म धर्ना जारी रहने महासमिति सदस्य तथा पूर्वमन्त्री ब्रजकिशोर सिंहले बताए । विवादित स्थानमा पुनः फाराम वितरण गरी विधिसम्मत तवरले निर्णय सिफारिशका आधारमा सदस्यता दिने वा १३औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यतालाई यथावत राख्ने निर्णय केन्द्रीय कार्यसमितिले गर्नुपर्ने उनले बताए ।

यस्तै बारा र कैलालीका नेता कार्यकर्ताहरुले पनि आफ्नो जिल्लामा पुराना व्यक्तिलाई छुटाएर विधानविपरीत सदस्यता दिइएको आरोप लगाउँदै धर्ना दिइरहेका छन् । क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म धर्ना जारी नै रहने उनीहरुले पनि बताए ।

नेपाली काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले पार्टी कार्यालयमा रौतहट , बारा र कैलालीका नेता कार्यकर्ताहरु धर्नामा रहेको र समितिले त्यस विषयलाई गम्भीरताका साथ लिएको बताए । विवादित विषयमा समितिले विधिसम्मत आवश्यक निर्णय लिनेसमेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्