नयाँ शक्तिको निष्कर्षः सरकार पुरै असफल, सडक संघर्ष गर्ने घोषणा



काठमाडौं : नयाँ शक्तिले बैठकले दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफलतातिर उन्मुख भएको निष्कर्ष निकालेको छ । पार्टीको महाधिवेशन आयोजक कमिटीको १५ औं पूर्ण बैठक यही कात्तिक १४–१५ गते बसेको थियो ।

सो सम्बन्धमा जारी प्रेस वक्तव्यमा कम्युनिष्ट–कांग्रेस नेतृत्वको पुरानो राजनीतिक ध्रुव देशको समृद्धीकरणको युगको नेतृत्व गर्न असक्षम हुँदै गएको उल्लेख छ । 'नयाँ शक्तिको नेतृत्वमा नयाँ राजनीतिक ध्रुव निर्माण देशको अपरिहार्य आवश्यकता बन्न पुगेको निष्कर्ष निकाल्दै यस कार्यमा योगदान गर्न सबै दल, समूह, व्यक्ति, व्यक्तित्वलाई विनम्रतापूर्वक सार्वजनिक अपील गरेको छ', वक्तव्यमा भनिएको छ ।

बैठकमा संयोजक डा बाबुराम भट्टराईद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 'राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ६८ सदस्यले भाग लिनुभएको थियो', वक्तव्यमा भनिएको छ, 'छलफलपछि आवश्यक परिमार्जनको प्रतिबद्धतासहित पार्टी संयोजक डा. बाबुराम भट्टराईले स्पष्टीकरण मन्तव्य व्यक्त गर्नुभयो र प्रतिवेदन पारित गरियो ।'

बैठकले आगामी मंसीर १ गतेदेखि चैत्र ३० गतेसम्मको ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना तयार गरेको छ । यस कार्ययोजनामुताविक पार्टी महाधिवेशन आयोजक कमिटीका सबै सदस्यहरु देशका ७७ जिल्लामा अभिप्रेरकका रुपमा परिचालित भई स्थानीय पार्टी अधिवेशन सम्पन्न गर्ने र पार्टीलाई वडा तहसम्म विस्तार गरिनेछ ।

२०७५ माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म पार्टी संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा पाँचथरको चिवा भन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म १७६५ किमी लामो मध्यपहाडी लोकमार्गमा जनजागरण यात्रा गरिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्