होटलमा खोप भेटिएपछि छानबिन माग गर्दै विर्तामोड नगरपालिकामा ताला



काठमाडौँ : सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै माओवादी र कांग्रेस निकट विद्यार्थीको समूहले शनिबार विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ । शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्का १०३ भाइल खोपसहित होटल टाइमलेसमा भेटिएका थिए ।

उनीमाथि होटलमा खोप लुकाउन लगेको आरोप लागेको छ । प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएको थियो । तर, कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रबार नै घर पठाएको छ ।

तर, विर्तामोडका युवा तथा विद्यार्थीले आज खड्कालाई कारबाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन् । ताला लगाउनेहरू नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता रहेका छन् । विद्यार्थीहरूले खोपमा कालाबजारी भएको र त्यसमा खड्का संलग्न रहेको दोषारोपण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्