संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं : संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भर्त्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्