माधव नेपाल आन्दोलन विरोधी र देशद्रोही : ओली



काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिएका छन् । एमालेको काठमाडौं जिल्ला कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै उनले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्। ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर फ्लोर क्रस गर्ने ।’

जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै उनले प्रतिक्रियावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ‘लगभग दुई तिहार्इको स्थितिलाई बहुमतमा पुर्‍याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन्’, ओलीले भने । पार्टीको सरकार ढल्दा अग्रगमणको सपनामा धक्का लागेको भन्दै उनले भने– ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो, सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।’

प्रतिक्रिया दिनुहोस्