ओलीको छुद्र बोली, एकतामा अनिश्चितता



काठमाडौँ : नेकपा एमालेमा विगत लामो समयदेखि चर्को आवाजसहित उडिरहेको विवादको जहाज कहिले, कसरी र कुन विन्दुमा पुगेर अवतरण हुन्छ भन्ने कुनै अत्तोपत्तो छैन । अवतरणका लागि दोस्रो तहका नेताहरुले हदैसम्मको प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन । हुन पनि दुई प्रमुख पायलटको नियन्त्रणमा रहेको एमाले नामको जहाज ‘क्याविन क्रु’हरुले अवतरणको प्रयास गर्दा कसरी सम्भव होस् !

मुख्य पायलटमध्येका एक केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ५ पुस २०७७ मा हठात् प्रतिनिधिसभा विघटन गरेदेखि सतहमा आएको विवादमा ८ महिना वितिसक्दा पनि सहमतिको कुनै विन्दु पहिलिन सकेको छैन ।

कार्यदल नै बनाएर पनि समाधानको विन्दु पहिल्याउने प्रयास नगरिएको होइन । तर एमाले गलत दिशातिर मोडियो भन्दै आफूले सही ढंगले हाँक्छु भन्ने अर्को पायलट माधव नेपालले कार्यदलको प्रस्तावमा खोट देखाउँदै अस्वीकार गरिदिए । एकअर्काविरुद्ध निषेधको राजनीति गरिरहेका यी दुई पायलट वास्तवमा एक हुनै नचाहेका हुन् । यो वास्तविकताबारे त पार्टी विभाजन भयो भने स्वयम्लाई आपूरणीय क्षति पुग्छ भन्ने बुझेर एकीकरणका लागि दौडधुप गरिहेका दोस्रो तहका नेताहरुलाई थाहा भएको हुँदो हो ।

औपचारिक रुपमा विघटन भइसकेको कार्यदलमा सम्मिलित सदस्यहरु निरन्तर आनौपचारिक छलफल तथा बैठकमा जुटिरहेका छन्, तर यो त्यत्ति उपलब्धिमूलक भएको देखिँदैन । यस पछाडीका प्रमुख कारण ओली र नेता नेपालले गरिरहेका एकअर्का विरुद्धको निषेधको राजनीति नै हो । कतै कुरा मिल्ला–मिल्ला जस्तो हुँदा एउटाले गलत स्वीच दबाइदिने । यसैपनि दुई पायलटबीचको द्वन्द्वका कारण सहि गति लिन नसकिरहेको जहाज त्यसपछि त झन् अनियन्त्रित भएको महसुस यात्रुहरुले नगर्ने कुरै भएन ।

यसका उदाहरण हामीसामू छर्लङ्गै छन्, जेठ ८ गते मध्येराति निवर्तमान प्रधानमन्त्री ओलीले दोस्रो पटक भंग गरेको संसद असार २८ मा पुनःस्थापना भयो । संसद पुनःस्थापनासँगै आएको सर्वोच्चको आदेशबाट पदच्युत भएका ओलीले सरकारी निवास छाडेर निजी निवास बालकोट पुगेपछि वरिष्ठ नेता नेपालप्रति छुद्र टिप्पणी गरे ।

निवासको बार्दलीबाट समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालले आत्मालोचना गर्नेसमेत कुनै ठाउँ नरहेको बताएका थिए । ‘हाम्रो साथीहरू विकाउ माल बने, विरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविष्यले निर्धारण गर्ला त्यसो त अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन’ ओलीको भनाइ थियो । उनी यत्तिमा मात्र सीमित रहेनन्, नेता नेपाललाई लालगद्दारको संज्ञा दिँदै लाजशरम हराएका विश्वासघाती र अन्तरघाती भनेका थिए ।

त्यसपछि धेरैको अनुमान थियो, ‘अब एमालेमा एकताको कुनै सम्भावना छैन, औपचारिक फुटको घोषणा हुन मात्र बाँकी छ ।’ तर विभिन्न प्रयासका बाबजुत पनि पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका वरिष्ठ नेता नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए । ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें । ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ । स्पष्टीकरण पठाउनु पर्दैन भन्ने खबर आएको छ रे’ उनले भनेका थिए ।

त्यही दिन अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरेका थिए । साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि नेता नेपालको मुड परिवर्तन भएको र उनले अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थालेको उनीनिकट नेताहरुको भनाइ छ ।

विवाद सुरु हुँदा पार्टीलाई सम्पूर्ण ढंगले २ जेठ २०७५ अघिको अवस्थामा पुर्‍याउनुपर्ने माधव नेपाल पक्षको एउटा माग थियो । तर जब दोस्रो पटक संसद पुनःस्थापना भयो, ओली सत्ताबाट बाहिरिए । त्यसपछि संस्थापन पक्षसँग नेपाल समूहको माग बढ्दै गयो । सत्ताबाट बाहिरिएपछि आफूलाई कमजोर महसुस गरिरहेका ओली पनि क्रमशः नेपाल समूहको मागप्रति नरम हुँदै गए ।

नेपाल पक्षले राखेको दुई अध्यक्षीय प्रणालीको मागलाई समेत पूरा गर्न ओली तयार भइसकेका थिए । तर दिनप्रतिदिन आफूलाई शक्तिशाली महसुस गर्दै गएको नेपाल पक्ष त्यसमा पनि तयार भएन । नेता नेपालले दुई अध्यक्षको समान हैसियत हुने गरी पार्टी विधान संशोधन गर्नुपर्ने र अर्को अध्यक्ष आफू नभइ झलनाथ खनाल वा अष्टलक्ष्मी शाक्यलाई बनाउनुपर्ने भनेर सहमतिको प्रयासमा नेता नेपालले अर्को भाँजो हालेको संस्थापन पक्षको बुझाइ छ ।

साउन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफू हदैसम्म लचिलो भएको बताएका थिए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भनेका थिए, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’ सबै माग पूरा गर्दा पनि एकताका लागि नेपाल पक्षले इच्छा नदेखाएको भन्दै अनेक बहाना खोजिरहेको ओलीको आरोप छ ।

माधव नेपालमाथि छुद्र टिप्पणी गर्दै आएका ओलीले उस्तै किसिमका अभिव्यक्ति दोहोर्‍याइरहेका छन् । शनिबार पनि काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको दाहोर्‍याए । नेता नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै निषेधित टिप्पणी गरेपछि त्यसले फेरि एमाले एकतालाई थप असम्भव तुल्याउँदै लगेको धेरैको बुझाइ छ ।

यसअघि बालकोटको बार्दलीबाट पनि सोही घोषणा गरेका ओलीले पुनः यही दोहोर्‍याउनुले अब चाहिँ साँच्चै ‘ठाउँ नभएको हो ?’ भन्ने प्रश्न पार्टीपङ्तिमा तेर्सिएको छ । असार ३० मै पार्टीम माधव नेपाललाई ठाउँ नभएको बताएका ओलीले ‘आममाफी’ पछि पुनः दोहोर्‍याउनुको संकेत अब चाहिँ साँच्चै नै एमाले एकता कायम रहने कुरामा शंकाको इँटा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्