सुदूरपश्चिमका बालबालिकादेखि वृद्धसम्म कामको खोजीमा भारततिर



धनगढी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा डोटीका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् ।

अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका शहरमा कामका लागि जान थालेको बताउने गरेको त्रिनगर प्रहरी प्रमुख रमेश शाहीले बताए । दैनिक सयौँ नागरिक कामका लागि भारत जान थालेका छन्, अधिकांश महिला र बालबालिका छन्, गाउँमा काम नपाएपछि काम खोज्न भारत जान थालेको भन्छन्, निकै दया लागेर आउँछ, उनले भने । कोभिड–१९ को जोखिम शहरदेखि गाउँसम्म कायमै रहे पनि त्यसको बेवास्ता गर्दै कामकै लागि भारत पस्न थालेका हुन् ।

हरेक वर्ष धान रोपाइँ सकेपछि हजारौँ सुदूरपश्चिमेली युवा काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्परा रहेकाले यस वर्ष पनि कामकै लागि अर्थात् दशैँ खर्च जुटाउन भारत पस्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराका मदनबहादुर बामीले बताए । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने गरेका छन्।

यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तत्थ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले हिजोआज कामका लागि भारत जाने नेपालीको सङ्ख्या बढेको जानकारी दिए । उनका अनुसार नेपालीहरूको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्