महन्थ ठाकुरको रिट निवेदनमा सुनुवाइ भएन



काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरेका रिट निवेदन हेर्न नभ्याइने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको त्यो रिट आज आठौं नम्बरमा थियो । यसअघिका अन्य सात रिटको सुनुवाइ मै समय व्यतित हुने सम्भावना देखिएपछि हेर्न नभ्याइने भन्दै इजलासले स्थगित गरेको हो । जनता समाजवादी पार्टीको आधिकारिकता दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहलाई आयोगले दिएपछि त्यसविरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा जसपा दुई भागमा विभाजित भएको थियो । ओलीलाई मधेशको मुद्दा सम्बोधन गर्ने शर्तमा ठाकुरले समर्थन जनाएका थिए भने यादव त्यसको विपक्षमा उभिएका थिए । त्यसपछि उत्पन्न विवाद निर्वाचन आयोगमा आधिकारिता विवादसम्म पुगेको थियो । आयोगले पुरानै ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको आधारमा यादव समूहलाई आधिकारिता प्रदान गरेको थियो भने ठाकुरलाई अर्को दल दर्ताको लागि आह्वान गरेको थियो ।

कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरी प्रथम अध्यक्षको हैसियतले समितिमा गरेको २० सदस्य मनोनयनलाई मान्यता नदिएर पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएको र त्यसले आफूलगायतका पार्टी सदस्य तथा सांसदलाई अन्याय भएकोले आयोगको निर्णय खारेजीको मागसहित ठाकुरले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्